र‌तनपुर‌ महा दर्शनमा गुरुको सन्दे‌श

जेठ ६, २०६८ (20.05.2011) 1005

अमरवती भुवन रूप जस्तै मोक्षमा विलीन हुन सकोस् संसार ! चन्द्रमाको मोहर ज्योतिर्मय प्रकाश जस्तै शीतलताले छाइरहोस् संसार ! सूर्यको तेजस्वी ज्योतिर्मय प्रकाश जस्तै निपूर्ण भई धर्म ज्ञानगुणले छाओस् संसार ! शंखको ध्वनी जस्तै गुञ्जिरहोस् धर्मको संसार ! वज्र जस्तै कठोरहोस् आत्मा, परमात्मा र अनात्मा मैत्रीयको संसार ! अष्टकमलको फूल जस्तै दिव्य स्मृति र सुगन्धले छाओस् शील, प्रज्ञा अनि समाधिको संसार !

हाम्रो विशुद्ध मार्ग दर्शनको खोजमा विश्वशान्ति र समस्त जगत प्राणीको जीवित उद्धार गर्ने लक्ष्यको साथमा छैठौं वर्ष सम्पन्न भइसकेको छ । आजको यस शुभ क्षण दुर्लभ पुण्यवान दिन पनि छ । यो कलिकालको चक्रव्यूहको संसारमा रुमलिएर भौंतारिरहने परिस्थिति संसारको परिवर्तित रूप पनि हो । युगीन परिस्थितिले प्रभावित भएको संसारलाई महा मैमैत्री नाथको मैत्री करुणा भावले जगाउने छु । यो कुरा संसारलाई थाहा छैन । महा मैमैत्री मार्गगुरु यो संसारमा चार पटकसम्म आवगमन हुनुभएको थियो । तर यो संसारको निमित्त वाणी मात्र छाडेर जानुभयो । आज भन्दा पैंतीस हजार वर्ष पहिले उहाँको शील, प्रज्ञा र समाधिको कारण हजारौं बोधिसत्व भइसकेका थिए ।

हजार वर्ष पछि दुई दिदीबहिनीको जन्म भएको थियो । त्यस समयमा दिदीले बोधिसत्व रूप लिइन भने बहिनी ऋद्धि चमत्कारी संसार नष्ट गराउने थिइन् । ती दुई दिदीबहिनीको नाम बोधि श्रवण र मोहिमा थियो । फेरी साक्य कुलमा पूर्व समाधिस्थको फलले सिद्धार्थ गौतम बुद्धको जन्म भई सिद्धार्थ गौतम बुद्ध पूर्व ध्यानको खोजमा फेरी एकाग्रता हुँदै गृह त्याग गरे ।

पूर्व ध्यानको अनुक्रमले गर्दा पूर्वज्ञान सिद्ध भई संसारलाई शील, प्रज्ञा र समाधि फेरी अनुष्ठान गरे । अन्तिम निर्वाण प्राप्त गर्ने समयमा समाधिस्थ हुँदा साक्षात महा मैमैत्री मार्गगुरुको दर्शन पाउनुभएको थियो ।

आज भन्दा दुई हजार वर्ष पहिले म यस भूमिमा नै थिएँ । त्यस समय म एकान्तमा ध्यान गरेर बसिरहेको थिएँ । त्यो समय अति क्रुर आक्रमण अवस्था थियो । त्यस अवस्थामा हत्या गरिदियो । त्यस ध्यानस्थ अवस्थामा रहेको हुनाले अन्तिम पचहत्तर दिनमा मात्र मृत्युको आभास पाएँ । यसरी संसारको निमित्त उद्धार गर्ने लक्ष्य दुई हजार वर्षसम्म त्यो आत्मा भौंतारिएर पीडा भई बिजुली चम्केको आवाज आई अनि आमाको कोखबाट जन्म सिद्ध भइसकेछु ।

जन्मना साथ तिमी ध्यानमा जाउ न, कताकता स्मरण भइरहेको थियो । आमाको काखी मायाको स्पर्शले भुलिदोरहेछ संसार । ६÷७ वर्षपछि स्मरण हुँदैगयो । एक दिन सेतो वस्त्र धारण गर्नुभएको एक महापुरुष आई वचन दिनुभयो ।

दिन प्रतिदिन पूर्व ध्यानको जानकारी हुँदैगयो । जब ८÷९ वर्षको उमेरमा एक चमत्कार दृश्य उत्पन्न भयो । गाउँ भन्दा अलिपर रतनपुर एक घर परिवारबाट मुर्दा जलाउन ल्यायो । साथी संगतको हुलमा खेलिरहेको अवस्थामा थिए । अचानक मेरो दृष्टि जलिरहेको चितामाथि पर्यो । त्यो चिताको लास मुर्दाबाट एक तेजस्वी ज्योतिर्मय प्रकट भई आकाश छेडीरहेको दृश्य देखापर्यो । त्यो ज्योतिर्मय प्रकाश हरियो र पहेँलो रङ्गको थियो ।

त्यो अवस्था देखि दिनदिनै पूर्वज्ञानको स्मरण हुनलाग्यो । त्यो चितामाथिको तेजस्वी ज्योतिर्मय प्रकाशको कारण मृत्यु भएपछि यसरी नै मानव आत्मालाई मुक्ति प्राप्त हुन्छ भन्ने चिन्तनमय आभाष हृदयमा बढ्नथाल्यो । त्यसपछि झन्झन् पूर्व ध्यानको स्मरण हुँदै तेजस्वी ज्योतिको कारण विस्तारै एकान्त र एकाग्रता ठाउँको आवश्यक हुनथाल्यो ।

पूर्वज्ञान स्मरणको कारणले सातौं चक्रबाट शुरु भई ब्रह्मचक्रसम्म पुगेर क्लेश र मारलाई नष्ट गरि अदृश्य ज्योतिहरू शरीरमा प्रवेश भयो । त्यस अवस्थामा जल, वायु, पृथ्वी, आकाश र सूर्यको समागम तत्त्व समाधिबाट लिनसक्ने भएँ । अनि शरीरको चलायमान गति विस्तारै पहिलो अवस्था भन्दा ढिलो हुँदैगयो ।

दश महिनाको लामो समयसम्म एउटै आसन गरि बस्दा जमीनको चिसो, झरीबादलको पानी, जाडो मौसमको शीतलहर, शरीरमा हेर्दा पातलो कपडा, पछाडी फकेर हेर्दा विस्तारै धमिरोले खादैपो आएछ । शरीर चलाउन खोज्यो पुरै शरीर खुम्चिएको छ । शरीर छुँदा पनि थाहा नहुने भएछ । गर्मी के ? चिसो के ? मेरो तपश्चर्यालाई पुरै संसार अविश्वासको घेराभित्र रहेको थियो । यो मेरो दिनचर्या संसारलाई पच्न मुस्किल भयो ।

आज पनि अविश्वासका पात्रहरू निकै नै देखिरहेको छु । अब जोकोही अन्तर मैत्रीय बुझाइसम्म पुगेको हुन्छ । ऊ आशावादी र सत्य नै हुनेछन् । जो गलत रूपले प्रायाश्चित गर्छ ऊ निराशावादी नै हुनेछ । महायान धर्म कायको खोजमा मेरो यो शरीर नै रहेन भने यो संसारलाई के सन्देश दिन सक्छु र ? भन्दै संसारको निमित्त पाएको ज्ञानमा भावविह्वल गदै ध्यानमा बसिरहँदा साँझपख आकाश वाणी भयो । ‘हे तपस्वी मुनी तिम्रो मृत्यु हुँदैछ, उठ ! उठ !! उठ !!!’ भनी वाणी आइरहेको थियो ।

तत्काल ध्यान दृष्टिले हेर्दा साक्षात भगवानको दिव्यदृष्टि भई आँखाबाट हरियो र पहेँलो ज्योतिर्मय प्रकाश आइरहेको थियो । त्यो ज्योति शरीरमा प्रवेश हुँदा अग्निशक्ति प्रकट भयो । त्यसपछि केही असन्तुष्ट व्यक्तिहरूले क्षीण भएको शरीरमा आक्रमण गर्ने तयारी गरे ।

क्षीण भएको शरीरको स्मरण सोच परिवर्तन हुँदैगयो । पहिलो स्थानबाट दक्षिणतर्फ लागेँ । त्यहाँबाट एकाग्रता स्थान खोज्ने क्रममा पुराना संरक्षण गर्ने समूहको स्मरण भयो । अनि दुःख दिनुहुन्न भनि दक्षिणपट्टि पयरको रुखमा बिहानीपख पर्खि बसें । बिहान ८÷९ बजेतिर ७ जनाको टोली उराठलाग्दो जंगलभित्र, त्यो विश्वास र श्रद्धाले पखालिएका मन सँगै आँखाबाट आँसु लिइ भेट्न आइपुगे ।

यी सात जना पहिले जन्मका धर्मचारीकाहरू थिए । विश्वास र श्रद्धाले पखालिएका मन, आँखाबाट आँसु लिइ ७ जना हामीबाट के कमी भयो ? भनी मैत्री करुणा भावना प्रकट गर्न थाले । सबै कुरालाई छोडी सम्झाइबुझाइ आफ्नो मार्ग दर्शनको खोजमा अघि लागें ।

त्यहाँबाट लामो यात्रा गदै ९ दिनसम्म जागृत ध्यानमा रहेर अघि बढ्दै गएँ । जंगलमा हात्ती, बाघ, मृग, हरिण, चितुवा, जरायो, खरायो, भालु, जंगली घोडा, बाँदर, मयूर अन्य चराचुरुङ्गी र वनस्पतिको साथ खोलानाला पार गदै एउटा चितवनको बिचबाट नदि बगिरहेको रहेछ । त्यो नदी रात्रीको समयमा पार गरि दक्षिणतर्फ जादैगर्दा ध्यान अवस्थामा ‘हे बाल मुनि तिमी आफ्नो शरीरको ख्याल राख, तिमी नै हुँदैन भने अब धर्मका रूपहरू विलीन हुँदैजानेछन् ।’ त्यो दिव्यवाणी सुनी आफ्नो मार्गमा अविचल रहँदै फेरी हलखोरिया फकें ।

हलखोरिया आइपुगेपछि मैले ६ वर्षसम्म नखोज्नु भनिसकेको थिएँ । तर मलाई निर्लज्ज भई हलखोरियाको उत्तरपूर्व सानो एउटा पहाडभित्र ओडार भेट्टाएँ । ओडारभित्र तीन महिनासम्म न हावा न पानी न सूर्यको ताप, त्यस अवस्थामा एउटा सिकारी जनावरको खोजीगदै आएछ । उसले त्यो खोडार देखेछ । विचरा सिकारी ! जनावरको मासुको लालचमा बाहिर बसेर कराइरहेको थियो । ‘को हो हँ ? मान्छे हो कि जनावर हो ?’ यस्तै शब्दले तीन चोटिसम्म करायो । अनि ओडारबाट विस्तारै हात निकालें । शिर पनि देखाएँ । विचरा सिकारी ! जनावर प्रति, मासुको तृष्णा र लालचमा परोस भनी उठें । अनभिज्ञ सिकारी र संसारको दुःख बुझेर सर्वहित र वन्यजन्तु तथा वनस्पति संरक्षणको लागि सर्वमैत्री ध्यान गरें ।

हलखोरियामा कल्पवृक्ष वरको रुख, बाघजोरको सिन्दुरेको बोटको फेदमा बसी आत्मा, शरीर र वचनलाई सांसारिक दृष्टिगमन गर्दा हजारौं भाव दर्शन एवम् ध्यान दर्शन हलखोरियाको कल्पवृक्ष बाघजोरको रमणीय जंगलमा सांसारिक बोध गर्ने नाना आसान धर्मका अपार सुख ज्ञानहरू प्राप्त गरें ।

यो क्षीण सरह भएको शरीर, त्यो कालो मडारिएको वायुमण्डल भित्र सुनसान रात एकान्त हलखोरियाको कालो बादलको जरीमा आत्म र परमात्मा बिच लीन भइरहेको अवस्थामा साक्षात महा मैमैत्री मार्गगुरुको दर्शन पाएको थिएँ ।

उहाँको साक्षात दर्शन र वचन यस पृथ्वी लोकलाई अहिले नै भन्न मिल्दैन । बौद्धिक हाम्रो एउटा पञ्चतत्त्व शरीर भएर पनि मैत्री भावनामा डुबुल्की खेल्दै समागममा सारा विश्वलाई एउटै भावनामा मैत्री करुणा विस्तार गरिजाने इच्छा छ ।

आत्मा, शरीर र वचनलाई सांसारिक दृष्टिगमन गर्दा विश्वशान्ति महा–मैत्रीय प्रणिधानलाई संसार भरी सर्वजगत प्राणी र वनस्पतिको संरक्षण एवम् कल्याण हेतु सम्पूर्ण ब्रह्माण्डमा सत्य ज्ञानलाई शील, समाधि र प्रज्ञाद्वारा श्रवण गराउनेछु । यस मैत्रीय सन्देशका साथ सम्पूर्ण विश्वमानवलाई अन्तरात्माको क्लेश मुक्त गर्न आठवटा शीलहरू बताउनेछु ।

१ मानवले मानवलाई धर्म, जाति, वर्ण र लिङ्गको रूपलिइ भेदभाव नगर्नु ।

२ धर्मलाई यो धर्म ठूलो त्यो धर्म सानो भनी अवहेलना नगर्नु ।

३ भेदभावपूर्ण दार्शनिक सिद्धान्त वा नीतिलाई नअपनाउनु ।

४ राष्ट्रलाई यो शत्रुको राष्ट्र र त्यो मित्रको राष्ट्र भनी नसोच्नु र भेदभावपूर्ण व्यवहार नगर्नु ।

५ सत्यलाई असत्य र असत्यलाई सत्य बनाउने दुष्प्रयास त्यागी बढाइचढाइ बोल्नु, दोषारोपण र अवमूल्यन गर्न त्याग्नु ।

६ दश अकुशल कर्महरू र अन्य पाप कहिल्यै नगर्नु ।

७ शील, समाधि र प्रज्ञाको अभ्यास गदै समाज अनि राष्ट्रको सेवामा जीवन समर्पित गर्नु ।

८ सम्यक् सम्बुद्ध प्राप्त गर्नु वा आफू र अरुको निमित्त मोक्ष प्राप्ति गर्नु ।

यस ब्रह्माण्डमा यीनै मैत्रीय अष्टशीललाई पालना गर्नसकेमा स्वर्ग युगमा भूमन्त्र भई देवभूमि सुखवती लोक जस्तै हुँनेछ । सम्यक् सम्बोधि ज्ञान शील र समाधिबाट नै प्राप्त हुन्छ । भौतिक सुखसुविधाले मात्र मानवको जीवनमा मुक्तिको मार्ग पाउन सक्दैन ।

शील अथवा नियम पालना गर्नु भनेको सांसारिक विषयवस्तु र जन्ममरणको चक्रबाट मुक्ति पाउनु हो । र, धर्मको नाममा ऋद्धि तथा चमत्कार देखाउनु भनेको धर्मको नियम विपरित हो । धर्मको नियम त्यो हो, जुन प्राणी यस सांसारिक दुःखबाट मुक्त हुन सकिरहेको छैन, त्यस्तो प्राणीलाई मुक्तिको मार्ग देखाउनु धर्मको नियम हो ।

दुःख, भय अनि त्रासरहित बोधिचर्या दिव्यचक्षु, विशुद्ध चित्त स्वात्मज्ञान र सर्वमैत्री महा करुणा भाव बोधिचित्त नै अस्तित्वगत निर्विकल्प परम महा–चेतन भावशक्तिको दर्शन हो । जो सांसारिक जगत प्राणीको लागि समर्पित भई समर्पण गर्छ । जहाँ समाधि रूप लिन्छ, त्यहाँ पूर्णतः धर्म छ ।

जसले यो संसारमा मैत्री अन्तर्भावसम्म छुन्छ । जसले परमात्माको समागममा रहि समाधिको अमृत पिउछ । जसले अन्तरात्ममा मैत्री प्रज्ञाको ज्योति बाल्छ । संसारलाई महा मैमैत्री मार्गगुरुको मैत्री ज्ञान र भाव सांसारिकद्वारा खुलाउँछ । साक्षात् उहाँहरू नै सत्पुरुष, महापुरुष र बुद्धपुरुष हुन् । मानव जीवन सारा अस्तित्व जहाँ सदा छ, त्यहाँ जीवनको पूर्णरूप नै धर्म हो । धर्मको पूर्णरूप नै अस्तित्वगत परम महा–शान्ति हो । अस्तित्वगत परम महा–चेतन भाव दर्शन नै सम्बोधि हो । महा सम्बोधि शाश्वत परमानन्द सर्वमैत्री भावनाको अटुट प्रवाह भइरहनु हो । सम्बोधि ज्ञानभित्र परम शान्तता र शीतलता छ । स्वर्ग लोक प्राप्तिको मोक्ष छ ।

सर्वमैत्री मंगलम् अस्तु तथास्तु ।
Next Speech 

भिडियोहरु

Thanks! Your translation has been sent.
Error occured sending translation. Probably this translation has already been submitted.